कलाशैली संवाददाता । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बिहिबारदेखि लाग्ने भनिएको फिल्म ‘महाभोज’ को रिलिज एकदिन अघि स्थगित गरिएको हठात् सूचना जारी गरिएको छ ।
फिल्म ‘महाभोज’ को निर्माण कम्पनी क्लक वर्क क्रियसन्स प्रालिले बुधबार मध्यान्ह जारी गरेको विज्ञप्ती अनुसार, पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितीका कारण नेपाल र नेपाल बाहिरका सबै देशमा हाललाई ‘महाभोज’ को प्रदर्शन स्थगीत गरिएको हो । निर्माता हिमाल कडरियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘मुलुकको संवेदनशील परिस्थितीमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकता दिंदै चलचित्र प्रदर्शनलाई तत्कालका लागि स्थगित गर्नु परेको हो । परिस्थितीहरु सामान्य भएसँगै नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिनेछ ।’
बिहिबार जेठ १५ गते नै सत्तारुढ दल एमाले र राजाबादीहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । यसअघि नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ मा राजधानी एमालेको कब्जामा हुनुपर्ने भन्दै आफ्ना कार्यकर्ता तथा भातृ संस्थाहरुलाई निर्देशन दिईसकेका छन् । प्रम ओलीको उक्त निर्देशनका कारण पनि बिहिबार गणतन्त्रवादी र राजावादीबीच भिडन्त हुनसक्ने अनुमान गरिएको छ । यसअघि गत चैत १५ मा राजावादीले नै गरेको प्रदर्शनका कारण दुई जनाको निधन भएको थियो भने दर्जनौं घाइते भएका थिए ।
फिल्म प्रदर्शनकै दिन संभावित भिडन्तलाई लिएर ‘महाभोज’ निर्माण पक्षले दर्शकको सुरक्षार्थ भन्दै राजधानी मात्रै नभई देश र विदेशसम्मको प्रदर्शन मिति स्थगित गरेको हो । जबकी मंगलबार मात्रै पीडित सहकारी बचतकर्ता र संचारकर्मीमाझ फिल्मको स्पेशल प्रिभ्यू गरिएको थियो भने देशभरका हलले ‘महाभोज’ को प्री बुकिंगका लागि शोज पनि निकालिसकेका थिए ।
जबकी विज्ञप्तीमा भनिएको जस्तो पछिल्लो समय देशभर आन्दोलन फैलिएको अवस्था नभएपनि र जेठ १५ मा हुने भनिएको राजावादीको आन्दोलनलाई पनि सरकारले चक्रपथ बाहिर नै सीमित गर्ने बताईरहँदा परिस्थिती फिल्म स्थगीत नै गर्नुपर्ने गरी प्रतिकुल भएको भने थिएन । राजधानीमा एक दिनको प्रदर्शनलाई लिएर विश्वभरको प्रदर्शनलाई अनिश्चितकालका लागि स्थगित गर्नुको खास कारण अरु पनि हुनसक्ने निकट स्रोतले बताएको छ ।
दिनेश राउतको निर्देशन रहेको यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, मलिका महत, गौमाया गुरुङ, अन्जना बराइलीलगायत कलाकारको अभिनय रहेको छ ।