कलाशैली संवाददाता । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बिहिबारदेखि फिल्म ‘महाभोज’ रिलिज हुँदैछ । दिनेश राउतको निर्देशन रहेको यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, मलिका महत, गौमाया गुरुङ, अन्जना बराइलीलगायत कलाकारको लावालस्कर त छ नै, तर कुनैबेला चकलेट हिरोको ट्याग पाएका आर्यनको भूमिकालाई लिएर धेरैको चासो छ ।
आर्यनलाई यिनै दिनेशले ‘पूजार सार्की’ बाट चरित्र अभिनेताका रुपमा लामो समयपछि अभिनयमा कमब्याक गराएका थिए । गत सातादेखि प्रदर्शनरत फिल्म ‘के घर के डेरा : घर नं. २’ मा पनि उनी घरभेटीको मुख्य भूमिकामा देखिएका छन् । तर उक्त फिल्मले सोचेअनुरुप सफलता हात पार्न सकेन । आर्यनको चारित्रिक रुपान्तरणले पनि खासै चर्चा पाउन सकेन ।
अब ‘महाभोज’ ले आर्यनको दोस्रो इनिंगको करिअर ग्राफलाई कहाँ लैजाला त ? सहकारीको रकम अपचलन, बचतकर्ताको पीडा र सहकारीको दूर्दशाको राष्ट्रिय मुद्दालाई नै विषय उठान गरिएको विकास सुवेदी लिखित यस फिल्ममा आर्यन सूर्यप्रसादको भूमिकामा छन् । लेखक सुवेदीले उक्त पात्रको नाम सूर्य राख्नु र सहकारी ठगीको मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेको नामसँग मिल्नु संयोग मात्रै जस्तो लाग्दैन । नामसँगै मुद्दा मात्रै मिलेको छैन, कर्म पनि मिल्दोजुल्दो बनाइएको छ, फिल्ममा ।
सूर्यप्रसाद विदेशबाट देश फर्केर गाउँको मुहार फेर्ने भन्दै राजनीतिमा होमिएको छ । जबकी रवि पनि अमेरिकादेखि नेपाल फर्किएर राष्ट्रिय स्वतन्त्र पार्टी खोल्दै निर्वाचनमा होमिए, देशको उपप्रधान तथा गृहमन्त्रीसम्म भए । यता ‘महाभोज’ का सूर्य पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । फिल्ममा पनि सूर्य राजनीतिमा आउनुअघि गाउँकै एक सहकारीसँग जोडिएका थिए, राजनीतिमा आउनुअघि सञ्चार उद्यममा संलग्न रविले पनि सहकारीबाट बचतकर्ताको रकम अपचलन गरेर आफ्नो उद्यममा लगानी गरेको आरोप छ । पछि राजनीतिमा आउने भएपछि उनले सहकारीसँगको आफ्नो संलग्नतालाई लुकाउने प्रयास गरेको अर्को आरोप छ ।
यसरी हेर्दा राजनीतिका रवि र ‘महाभोज’ का आर्यनको चरित्रलाई लेखकले धेरैहदसम्म मिल्दोजूल्दो बनाउन खोजेको देखिन्छ । राजनीतिमा कतिपयलाई अझै पनि रवि आदर्श नेता वा नेतृत्वकर्ता लाग्छ, परम्परागत पार्टी र नेताले देशका लागि केही गर्न नसकेको भन्ने जनताको गुनासोलाई रविको आगमनले केही राहत दिएको छ भने सहकारी ठगीको काण्डमा मुछिएपछि कतिपयका लागि भने उनी पनि ‘जून जोगी आएपनि कानै चिरेका’ भएका छन् । एउटै व्यक्ति रवि कतिपयका लागि आदर्श र कतिपयका लागि ठग, फटाहा !
त्यसो हो भने ‘महाभोज’ का सूर्यप्रसाद उर्फ आर्यनलाई कस्तो चरित्रमा देखाईएको छ त ? हिरो बनाइएको छ की भिलेन ? परिबन्दमा परेको पात्र हो की नियतवशको फटाहा ? यो थाहा पाउनका लागि भने फिल्म नै हेर्नु उचीत हुनेछ ।





