कलाशैली संवाददाता । विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘ऊनको स्विटर’ नेपाली बक्सअफिसमा २०८२ सालको पहिलो सुपरहिट फिल्म बनेको छ। घरेलु बक्सअफिसमा धूम मच्चाइरहेको यो फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ र प्रदर्शन अझै उत्साहजनक रहेको वितरकहरूले बताएका छन् ।
यसले तेस्रो शुक्रबार, अर्थात् प्रदर्शनको १५औँ दिन, साँझ ५ बजेसम्ममा सरकारको आधिकारिक बक्सअफिस प्रणालीमा ७ करोड १० लाख रुपैयाँ ग्रस सङ्कलन गरेको तथ्याङ्क प्राप्त छ । शुक्रबारको रात्रिकालीन शोहरूको हिसाब थपिँदा यो आँकडा अझै बढ्नेछ । फिल्मले तेस्रो शनिबार पनि उत्कृष्ट व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
तेस्रो शुक्रबार पनि फिल्मले देशभरिका १ सय १२ स्थानमा शो पाउनुलाई यसको लोकप्रियताको सूचक मानिएको छ । तेस्रो सप्ताहन्तमा समेत सयभन्दा बढी शोहरूमा आफ्नो उपस्थिति जनाइरहनुलाई फिल्म क्षेत्रमा सुखद मानिएको छ ।
नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्विटर’को कूल कमाइमा पूर्वी नेपाल र काठमाडौं उपत्यकाको योगदान सबैभन्दा उच्च रहेको देखिन्छ । यसैबीच, चलचित्र विकास बोर्डले हाल मुलुकभर १ सय ६५ हलहरू वैधानिक रूपमा सञ्चालनमा रहेको र ती सबैमा बक्सअफिस प्रणाली जडान भइसकेको जानकारी दिएको छ ।