कलाशैली संवाददाता । फिल्म ‘अझै पनि’ बाट अभिनेताका रुपमा डेब्यू गरेका पुष्प खड्काको नेपाली फिल्ममा १० वर्ष बितिसक्यो । त्यसो त यसअवधिमा उनले आठ फिल्म मात्रै खेलेका छन्, तर तेस्रो फिल्म ‘मंगलम्’ बाटै उनले राज्यले दिने प्रतिष्ठित अवार्ड राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए ।
अभिनयका कारण निकै प्रशंसा बटुल्न सफल भएपनि पुष्प फिल्म पाउने सवालमा भने अभागी जस्तै छन् । पछिल्लो ‘मनसँग मन’ २०७९ माघ २७ मा रिलिज भएपछि पुष्पले दर्शकसँग हल साक्षात्कार गर्न पाएका छैनन् । झन्डै २७ महिनादेखि हात खाली बनिरहेका पुष्प यतिबेला भने फिल्म ‘महाराजधिराज’मा जोडिएका छन् ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहने ‘महाराजधिराज’ मा यसअघि नै पल शाह, आर्यन सिग्देल, रमेश उप्रेती अनुबन्ध भईसकेका छन् भने नायिकाद्वय वर्षा शिवाकोटी र बर्षा राउत पनि खेल्ने पक्कापक्की भईसकेको छ । कलाकारको हुलमुलमा नै भएपनि ‘महाराजधिराज’ मा जोडिन पाएका पुष्पले आफ्नो भुमिकालाई कत्तिको खरो उतार्ने हुन्, त्यो भने संभवत आगामी दशैंको फुलपातीमा हेर्न पाइनेछ । फिल्मको प्रस्तुतकर्ता विराज विष्टले ‘महाराजधिराज’ लाई दशैंकै हुलमुलमा रिलिज गर्ने ताकेता गरिरहेका छन् ।
पुष्पले ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेकोले निकै उत्साहित रहेको बताएका छन् । पछिल्लो समय म्युजिक भिडियो खेल्नमा नै सीमित भईरहेका उनी यस फिल्मले आफ्नो करिअरलाई नयाँ उचाइ दिने विश्वासमा छन् ।
‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।