बीबीसी । ‘हेरा फेरी ३’ बाट अभिनेता परेश रावल बाहिरिएपछि हलचल मच्चिएको छ । परेशले सामाजिक सञ्जालमार्फत आफू यो फिल्मबाट अलग भएको हठात् जानकारी दिएका थिए ।
फिल्मका प्रमुख तीन पात्रमध्ये एक सुनील शेट्टीले परेश रावलको अनुपस्थितिमा यो फिल्म बनाउन असम्भव रहेको बताएका छन् । त्यस्तै, फिल्मको पहिलो भागका निर्देशक प्रियदर्शनले पनि परेशको यो निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् । यो विवाद तब झनै चर्कियो जब समाचारमा अक्षय कुमारले परेश रावललाई २५ करोड भारुको कानुनी नोटिस पठाए भन्ने आयो । यद्यपि, यसबारे कुनै आधिकारिक पुष्टि भने भएको छैन ।
सन् २००० मा रिलिज भएको ‘हेरा फेरी’ मा परेश रावल, अक्षय कुमार र सुनील शेट्टी मुख्य भूमिकामा थिए । कमेडी शैलीको यो फिल्म त्यसताक निकै सफल भएको थियो । सन् २००६ मा यसको सिक्वेल ‘फिर हेरा फेरी’ रिलिज भयो । उक्त सिक्वेल पनि सुपरहिट बन्यो ।
के भन्छन्, परेश रावल ?
गत आइतबार परेशले सामाजिक सञ्जालमार्फत् आफु ‘हेरा फेरी ३’ मा नरहने बताएका हुन् । ‘हेरा फेरी’ सिरिजमा ‘बाबूराव’ को लोकप्रीय भूमिका निर्वाह गरेका परेशले एक अन्तर्वार्तामा यो फिल्मको तेस्रो संस्करणमा आफु खेल्ने प्रति अनिच्छा व्यक्त गरेका थिए । उनले आफ्नो पात्र र अभिनयलाई ‘गलाको पासो’ को संज्ञा दिंदै उक्त अन्तर्वार्तामा यो फिल्मको दोस्रो भागपछि आफुलाई यो छविबाट मुक्ति चाहिएको महसुस गरेको बताएका थिए ।
‘बाबूरावको भूमिकाले कलाकारका रुपमा खुशी त दिन्छ नै, तर यसले मलाई बाँध्छ पनि,’ उनले थपे, ‘जब तपाईं सिक्वेलमाथि सिक्वेल बनाउनुहुन्छ, तब तपाईं उही पुरानै कुरा दोहोर्याउनुहुन्छ ।’ त्यसपछि उनले गत आइतबार सामाजिक सञ्जालमा आफ्नो धारणाबारे थप विस्तार गर्दै लेखे, ‘म स्पष्ट गर्न चाहन्छु कि ‘हेरा फेरी ३’ बाट अलग हुने मेरो निर्णय रचनात्मक मतभेदका कारण होइन । मसँग निर्देशक प्रियदर्शनप्रति कुनै असहमति छैन । मलाई उनको लागि ठूलो प्रेम, सम्मान र विश्वास छ ।’
सुनील शेट्टीको प्रतिक्रिया
हालै आफ्नो फिल्म ‘केसरी वीरः द लेजेंड अफ सोमनाथ’ को प्रचारमा व्यस्त सुनील शेट्टीले यो खबरले आफूलाई स्तब्ध बनाएको बताए । भने, ‘यो मेरो लागि पनि ठूलो झट्का हो । मलाई यो खबर हिजोमात्र थाहा भयो र म पूरै टुटेँ । मैले जुन फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको थिएँ, त्यो ‘हेरा फेरी ३’ थियो । यो फिल्म परेश रावल बिना शतप्रतिशत बन्न सक्दैन । हो, एक प्रतिशत म वा अक्षयको बिना बन्न सक्ला, तर बाबू भैयाले राजु र श्यामको कुटाइ नगरेको भए यो फिल्म चल्दैनथ्यो ।’
अर्को कार्यक्रममा उनले भने, ‘मलाई अझै पनि विश्वास छ, सबै ठीक हुनेछ,’ उनले थपे, ‘फिल्म नबने पनि म, परेश र अक्षयबीच कुनै दुश्मनी होस् भन्ने चाहन्नँ ।’ टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा सुनीलले भने, ‘मैले परेश रावललाई फोन गरेँ, तर उनी खासै सही मुडमा थिएनन् । उनले ‘हामी पछि कुरा गर्छौं’ भने । अनि मैले पनि कुरा टुंग्याएँ ।’ उनले अक्षयसँग पनि कुरा गरेको, तर उनलाई पनि यो विषयमा केही थाहा नभएको बताए ।
अक्षय कुमारको नोटिस र निर्देशकको प्रतिक्रिया
हिन्दुस्तान टाइम्सको एक विशेष रिपोर्टमा अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’ मार्फत परेश रावललाई २५ करोडको कानुनी नोटिस पठाएको उल्लेख गरिएको थियो । जून नोटिस परेशको अव्यवसायिक व्यवहार, कानुनी सम्झौता र सुटिङ सुरु भएपछि फिल्म छोडेको कारणले पठाइएको दाबी उक्त रिपोर्टमा गरिएको थियो । तर यस समाचारको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
‘अक्षयसँग कानुनी कदम चाल्ने अधिकार छ, किनकि उनको पैसा यो फिल्ममा लगानी भएको छ । अक्षयले निर्माता फिरोज नाडियाडवालाबाट यसको अधिकार किनेका थिए,’ निर्देशक प्रियदर्शनले भने, ‘मलाई थाहा छैन यो सब किन भयो, किनकि परेशले हामीलाई केही बताएका छैनन् । फिल्म सुरु गर्नुअघि अक्षयले मलाई परेश र सुनीलसँग कुरा गर्न भनेका थिए, र मैले त्यसै गरेँ । दुवै जना तयार नै थिए ।’
सामाजिक सञ्जालमा प्रतिक्रिया
परेश रावलको यो निर्णयले ‘हेरा फेरी’ का प्रशंसकले समाजिक सञ्जालमा निराशा व्यक्त गरिरहेका छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘आशा छ, ‘हेरा फेरी ३’ को विवाद चाँडै सुल्झिनेछ । परेश, सुनील र अक्षयको जोडीको जादूले यो फिल्मलाई आइकनिक बनाएको छ । यो भन्दा कमले यो फिल्म कमजोर बनाउँछ ।’
अर्का प्रयोगकर्ता भन्छन्, ‘हेरा फेरीमा हेराफेरी भयो । बाबू भैया बिना फिल्म कस्तो होला ?” अर्का थप्छन्, ‘बाबू भैया बिना फिल्ममा रमाइलो आउँदैन ।’ एक प्रयोगकर्ताले भावुक हुँदै लेखे, ‘परेश रावलको बिना ‘हेरा फेरी’ मन्दिरमा घण्टी नबजे जस्तो, चियामा चिनी नहाले जस्तो हुन्छ । बाबू भैयाको सोझोपना, चतुरता र हास्यले यो फिल्म कालजयी बनेको हो । उनको संवाद र हास्य टाइमिङले मन जितेको हो । उनी पात्र मात्र होइन, भावना हुन्, जसको बिना हाँसो पनि अधुरो हुन्छ ।’