कलाशैली संवाददाता । साहित्यकार इन्द्रबहादुर राईको कालजयी कथामा आधारित रहेर तयार गरिएको फिल्म ‘जार’ लाई सेलेब्सले रुचाएका छन् । आज ललितपुरस्थित लविम मलमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्ने अधिकाँसले यसको छायांकन, पार्श्वसङ्गीत, कलर, कलाकारको अभिनय उत्कृष्ट रहेको भन्दै प्रसंशा गरे । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर तयार भएको फिल्म ‘जार’ नयाँ पुस्ताले हेर्नैपर्ने बताएका छन् ।
उनले भने, ‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि यो फिल्म हेर्नुपर्छ भन्ने मलाई लागेको छ ।’
अभिनेत्री मनिषा कोइरालाले पनि ‘जार’ नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन् । ‘हामीले पछिल्लो समय उत्कृष्ट फिल्म दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो । यसले हाम्रो इतिहास र साहित्यलाई फिल्मको माध्यमबाट जीवन्त बनाएको छ । प्राविधिक पक्षमा केही चुनौती भए पनि कथा भन्ने शैलीमा हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छौँ’, उनले भनिन् ।
अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको दृढ आत्मविश्वासको प्रशंसा गरिन् ।
प्रिमियरमा उपस्थित दर्शकहरुले पनि निर्देशक लामा र कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही तथा गितान्जली थापाको सशक्त अभिनयको खुलेर प्रशंसा गरे । १८०० को दशकको वास्तविक घटनामा आधारित यो फिल्म आउँदो वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
तस्बिरहरू : कुवेर डंगोल