कलाशैली संवाददाता । भारतीय ग्ल्यामर र नृत्यकलाले दर्शकको मन जितेकी अभिनेत्री नोरा फतेही जेठ ३ गते काठमाडौंमा देखिने भएकी छन् । उनी यहाँ शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आयोजना हुने एक विशेष च्यारिटी कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्न आउँदैछिन् ।
बिहिवार सुकेधाराको मर्क्युर होटलमा आयोजित पत्रकार सम्मेलनमा वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले नोरा फतेहीको नेपाल भ्रमणको उद्देश्य र कार्यक्रमबारे जानकारी गराए । उनले मनोरञ्जनको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष मगरले नोरा फतेहीको नेपालमा रहेको फ्यान फलोइङलाई मध्यनजर गर्दै गरिएको निमन्त्रणालाई उनले सहर्ष स्वीकार गरेको बताए । यस कार्यक्रममा नोरा फतेहीसँगै नेपाली कलाकारहरूले पनि आफ्नो प्रतिभा देखाउनेछन् ।
इभेन्ट म्यानेजर मनिष कार्कीले कार्यक्रममा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्य निर्देशक समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का उत्कृष्ट प्रतिस्पर्धीहरू इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र प्रशेस पाण्डेले पनि आआफ्नो प्रस्तुति दिने जानकारी दिए ।
‘नोरा फतेही लाइभ इन नेपाल’ नामक यो च्यारिटी कार्यक्रम २०८२ साल जेठ ३ गते (मे १७, २०२५) मा बौद्धस्थित हायात होटलको फराकिलो चौरमा आयोजना हुनेछ । नोरा फतेहीले एक भिडियो सन्देशमार्फत नेपाल आउन र यहाँका दर्शकहरूसँग प्रत्यक्ष भेट्न आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले नेपालबाट पाएको मायाप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो प्रस्तुतिलाई यादगार बनाउने प्रतिबद्धता जनाएकी छन् ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । आयोजकका अनुसार नोरा फतेहीसँगै मुम्बईबाट २० जनाभन्दा बढी नृत्याङ्गनाको टोली पनि नेपाल आउनेछ। जेठ ३ गते हुने यो विशेष कार्यक्रमको टिकट खल्ती एपमार्फत रु २ हजार, ४ हजार, ७ हजार र १६ हजारमा उपलब्ध छन् । कार्यक्रमलाई थप रोचक बनाउन नोरा फतेही र गायक दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ बोलको गीतमा संयुक्त प्रस्तुति दिने जानकारी आयोजकले दिएका छन् । दर्शकहरूका लागि दिउँसो ३ बजेदेखि नै गेट खुला गरिनेछ।
अभिनेत्री नोरा फतेहीका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ र ‘स्नेक डान्स’ जस्ता हिट गीतहरू नेपालमा पनि उत्तिकै लोकप्रिय छन् । अब नेपाली दर्शकले उनलाई प्रत्यक्ष स्टेजमा देख्न र उनको नृत्यको आनन्द लिन पाउने भएका छन् ।