कलाशैली संवाददाता । म्याग्दी जिल्लाको सुन्दर गाउँ ताकमबाट नयाँ नेपाली फिल्म ‘माइतीघर’ को छायांकन आजदेखि सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै फिल्मको युनिटले छायांकन थालेको हो । धौलागिरी गाउँपालिका–७ मा अवस्थित उक्त मन्दिरमा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा फिल्मको ‘कास्ट एन्ड क्रू’ ले मुहूर्त पूजा सम्पन्न गरे । निर्माता रोहित अधिकारीका अनुसार, ४० दिनको छायांकन तालिका रहेको यो फिल्मको पहिलो २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने बाँकी छायांकन दरबाङको तातोपानी क्षेत्रमा गरिनेछ ।
पहिलोपटक आफ्नो गाउँमा फिल्मको छायांकन हुन लागेकोमा धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले खुसी व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष पुनले क्ल्याप बोर्ड दिएर र वडाध्यक्ष अशोक खत्रीले नरिवल फोडेर फिल्मको छायांकनको शुभारम्भ गरे । धौलागिरी हिमशृंखलाको मनमोहक दृश्य देखिने ताकम क्षेत्र पश्चिम म्याग्दीको एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो ।
फिल्मको टोलीलाई गाउँमा स्थानीय बासिन्दाले बाजागाजा र नाचगानसहित भव्य स्वागत गरेका थिए । यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्महरू निर्माण गरिसकेका निर्माता रोहित अधिकारीको यो चौथो प्रोजेक्ट हो । यो फिल्ममा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका लोकप्रिय कलाकारहरूको अभिनय रहनेछ ।
मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्मको निर्माताहरूमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ रहेका छन् भने ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताको भूमिकामा छन् । फिल्मको प्रदर्शन मिति दसैँको फूलपातीमा तय गरिएको छ ।