कलाशैली संवाददाता । भारतीय अभिनेत्री चुम दरङले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले अभिनेता प्रदीप खड्काको जोडी बनेर नेपाली फिल्म ‘ऐरी’ मा अभिनय गर्न लागेकी हुन् । भारतीय फिल्म ‘गंगुबाई कठियावाडी’ र टिभी रियालिटी शो ‘बिग बोस’ सिजन १८ मार्फत चर्चा कमाएकी चुम फिल्म वर्कशपका लागि काठमाडौँ आएकी छिन् ।
एक्सन तथा प्रेम कहानीमा आधारित ‘ऐरी’ दुई सातामा छायांकनमा जाने तयारीमा रहेको छ । हाल फिल्मको कार्यशालामा सहभागी हुन चुम काठमाडौं आइपुगेर नेपाली भाषा र संवाद सिकिरहेकी छिन् । फिल्ममा मुख्य खलपात्रको भूमिकामा भने भुटानी अभिनेता सांगे सेल्ट्रिम देखिनेछन् ।
फिल्मको छायांकन काठमाडौं, बागलुङको ढोरपाटन र भारतका विभिन्न स्थानमा हुनेछ। छायांकन तीन महिना चल्ने बताइएको छ । नेपाली र हिन्दी भाषामा बन्ने यो फिल्म केही क्षेत्रीय भाषामा पनि डब गरिनेछ ।
फिल्ममा प्रदीप, चुम र सांगेबाहेक अभिनेता सुनिल थापाको पनि अभिनय रहनेछ । अन्य चर्चित नेपाली कलाकारको पनि सहभागिता हुने चर्चा छ।