लस एन्जलस– ओस्कार मनोनित अभिनेत्री क्रिस्टन स्टिवर्ट र स्क्रिनराइटर डायलन मेयरले आफ्नो पाँच वर्ष भन्दा लामो प्रेम सम्बन्धलाई नयाँ मोड दिँदै विवाहमा परिणत गरेका छन् ।
‘स्पेन्सर’ स्टार स्टिवर्ट र ‘मोक्सी’ लेखिका मेयरले गत आइतबार लस एन्जलसको सिल्भर लेकस्थित कासिटा डेल क्याम्पो रेस्टुरेन्टमा आयोजित एक निजी समारोहमा विवाह गरेका हुन् । समारोहमा अभिनेत्री एश्ले बेन्सन र उनका पति ब्रान्डन डेभिसलगायतका साथीभाइ र परिवारको उपस्थिति थियो ।
सन् २०२१ को अन्त्यमा इन्गेजमेन्टको घोषणा गरेको तीन वर्षभन्दा बढी समयपछि यो जोडी वैवाहिक बन्धनमा बाँधिएको हो । उनीहरूले गत साता लस एन्जलसको एक अदालतबाट विवाहका लागि अनुमतिपत्र लिएको टीएमजेडले आइतबार जनाएको छ ।
विवाह समारोहमा दुवै दुलहीहरूले सरल र अनौपचारिक पोशाक लगाएका थिए । स्टिवर्ट हल्का खैरो रङको म्याचिङ सर्ट र मिनी स्कर्टको सेटमा देखिएकी थिइन् भने मेयर पारदर्शी सेतो टप, मिनी स्कर्ट र कालो रिबनले सजिएको कपालसहित प्रस्तुत भएकी थिइन् । तस्वीरहरूमा नवदम्पती एकअर्कालाई अँगालो मार्दै र स्टिवर्टले मेयरको औँलामा औँठी लगाइदिएको दृश्य देख्न सकिन्छ ।
‘ट्वाइलाइट’ फिल्म सिरिजबाट विश्वभर चर्चित स्टिवर्टले सन् २०१३ मा एक फिल्मको सेटमा मेयरलाई पहिलो पटक भेटेकी थिइन् । सन् २०१९ को गर्मीयाममा दुवैको एक आपसी साथीको पार्टीमा पुनः भेट भएपछि उनीहरूको प्रेम सम्बन्ध सुरु भएको थियो ।
३५ वर्षीया ‘लभ लाइज ब्लिडिङ’ अभिनेत्री स्टिवर्टले सन् २०२१ नोभेम्बर २ मा हावर्ड स्टर्नको सिरियसएक्सएम शोमा ३७ वर्षिया मेयरसँगको इन्गेजमेन्टको घोषणा गरेकी थिइन् । ‘मलाई प्रस्ताव गरियोस् भन्ने चाहन्थेँ, त्यसैले मैले आफूले चाहेको कुरा स्पष्ट रूपमा व्यक्त गरेँ र डायलनले त्यसलाई पूर्ण रूपमा पूरा गरिन्,’ स्टिवर्टले सन् २०२१ मा भनेकी थिइन्, ‘हामी विवाह गर्दैछौं, यो भइरहेछ ।’
उनले त्यसबेला समलिङ्गी जोडीमा लैङ्गिक भूमिकाको अनिश्चितताबारे पनि आफ्नो संक्षिप्त धारणा राखेकी थिइन् । ‘हामी दुई केटी, कसले के गर्छ भन्ने थाहा हुँदैन,’ उनले भनेकी थिइन् । स्टिवर्टले सुरुमा आफू प्रस्तावको पर्खाइमा रहेको बताए पछि डायलनले तत्काल प्रस्ताव राखेको क्षण निकै प्रीय रहेको बताएकी थिइन् ।