कलाशैली संवाददाता । आगामी दसैँमा नेपाली फिल्म एकआपसमा भिडन्त हुने खबर मिडियामा आएको लामो समय भइसकेको छ । गत वर्षदेखि नै दसैँलाई लक्षित गरी धेरै फिल्म निर्माण प्रक्रियामा जुटिसकेका छन् । यद्यपि, दसैँमा फिल्म प्रदर्शन हुने घोषणा गर्ने पहिलो व्यानर षट्कोण आर्ट्स थियो । ‘महाजात्रा’ फिल्ममा समावेश ‘साथी’ बोलको गीतमार्फत निर्माता माक्स दीपेश खत्रीले २०८२ को दसैँमा फिल्म ल्याउने घोषणा गरेका थिए ।
यद्यपि ‘जात्रा’कै सिरिज आउँछ कि अन्य कुनै नयाँ फिल्म भन्ने विषयमा निर्माण टिमले आधिकारिक रूपमा केही बताएको थिएन । अहिले अन्य फिल्महरू घोषणा भइरहँदा षट्कोण आर्ट्स के गर्दैछ त ? निर्देशक प्रदीप भट्टराईले दसैँमा फिल्म आउने वा नआउने भन्ने विषयमा स्पष्टता दिन सकेनन् ।
‘हामी आन्तरिक गृहकार्यमा छौँ, नआउने कुनै कारण छैन । तर, ‘जात्रा’ सिरिजलाई अहिले निरन्तरता दिने सोच छैन’, उनले भने । उनले षट्कोण आर्ट्सबाट निर्देशक खिन्से नोर्बुको फिल्म छायांकन भइरहेको जानकारी दिए ।
‘दुलही’ शीर्षकमा छायांकन भइरहेको उक्त फिल्म नेपालभन्दा अगाडि विदेशमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ । उक्त फिल्ममा कमलमनी नेपाल, बिनिता रानामगर लगायतका कलाकारको अभिनय रहेको बुझिएको छ । नेपाल बाहिर यो फिल्म ‘ब्राइड’ शिर्षकमा प्रदर्शन हुनेछ ।
यसैगरी, षट्कोण आर्ट्सले दुई नयाँ फिल्म ‘महारानी’ र ‘सटाहा’ निर्माण गर्ने तयारी थालेको छ । तर, यम थापाको निर्देशनमा बन्ने ‘महारानी’ को छायांकन तयारीमा उनीहरू जुटेका छन् । निर्देशक भट्टराईले यसबारे धेरै जानकारी दिन चाहेनन्, उनले आन्तरिक तयारी मात्र भइरहेको बताएका छन् ।