कलाशैली संवाददाता । वर्ष २०८१ फिल्म क्षेत्रका लागि धेरै अर्थमा स्वर्णिम रह्यो । यसअघि हास्य विधाका फिल्मले बढि सफलता पाईरहेको सन्दर्भमा कमेडी फिल्म निर्माणमा बढि केन्द्रित भईरहेका फिल्मकर्मीका लागि २०८१ मा दर्शकले मनोरञ्जनात्मक र राम्रा फिल्म भएमा जुनसुकै विधाका फिल्म पनि रुचाइन्छ भन्ने प्रमाणित गरिदिए । यसकारण पनि यस वर्ष प्रदर्शन हुने फिल्ममा विविधता हेर्न पाइनेमा दर्शकसँगै कलाकर्मी पनि उत्साहित छन् । यसका साथै केही पुराना फिल्मकर्मी यो वर्ष कमब्याक गर्दैछन् ।
झन्डै ६ वर्षपछि अभिनेता तथा निर्देशक निखिल उप्रेती पनि फिल्मको तयारीमा जुटेका छन् । उनले फिल्म निर्माण, निर्देशन तथा अभिनय गर्दैछन् । उनले द्वन्द्व विधामै रहेर फिल्म निर्माण गरेता पनि त्यसमा वैचारिक द्वन्द्व पनि पाइने बताए । फिल्म छायांकनको तयारीका लागि उनले नेपालसँगै भारतको केही लोकेसन हेरेर काठमाडौँ फर्किएका छन् ।
‘जेठदेखि फिल्मको छायांकन गर्ने तयारी गरिरहेको छु । भिन्न कथा र शैलीको चलचित्र दर्शकलाई दिने तयारी गरिरहेको छु, किनकि दर्शकलाई हलसम्म दोहोर्याउन नियमित भन्दा केही फरक गर्नु जरुरी छ’, उनले भने । उनी झन्डै ६ वर्षपछि फिल्मकर्ममा फर्किन लागेका हुन् । उनले प्राविधिक रुपमा पनि फरकपन दर्शकले दिने कोसिस गरिरहेको बताएका छन् ।