कलाशैली संवाददाता । प्रसिद्ध हिन्दी टेलिभिजन सिरिज ‘रामायण’ मा भगवान रामको भूमिका निभाएका भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् । उनी पत्नी श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका हुन् ।
आइतबार बिहान गोविलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । दर्शनपछि सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आज मलाई पवित्र धाम भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिल्यो । महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्ति महसुस गरें । हर हर महादेव! भगवान रामको जय होस् ।’
रामानन्द सागरद्वारा निर्मित ‘रामायण’ टिभी सिरिजमार्फत विश्वव्यापी रूपमा चर्चामा आएका गोविलले ‘पहेली’, ‘सावन को आने दो’, ‘हिम्मतवाला’, ‘आर्टिकल ३७०’ जस्ता थुप्रै फिल्ममा पनि अभिनय गरेका छन् । हालै सार्वजनिक भएको फिल्म ‘आर्टिकल ३७०’मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । उनी सन् २०२४ मा सम्पन्न भारतीय लोकसभा निर्वाचनमा उत्तर प्रदेशको मिरुत क्षेत्रबाट निर्वाचित सांसद हुन् ।