कलाशैली संवाददाता । वर्ष २०८२ को पहिलो दिनको शुभ साइत पारेर वैशाख १ गते सोमबार चार नेपाली फिल्मले निर्माण घोषणा गरेका छन् । जसमा २०८० को ब्लकबस्टर्स फिल्म जारीको सिक्वेलसहित ढुकढुकी, मिरमिरे, पुष्पलता, यानीमाया र जदौ रहेका छन् । उपेन्द्र सुब्बाकै लेखन तथा निर्देशन रहने जारी २ को सोमबार नै अभिनेता दयाहाङ राईलाई राखेर नयाँ पोष्टर पनि सार्वजनिक गरिएको छ । जारीमा पनि दयाहाङ विजय बराल र अभिनेत्री मिरुना मगरसँगै मुख्य भूमिकामा थिए ।
बैशाख तेस्रो सातादेखि पाँचथर आसपास क्षेत्रबाट छायांकन थालिने जारी २ आगामी दशैंमा प्रदर्शनमा आउने बताइएको छ । सिक्वेलमा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने जारी २ लाई रामबाबु गुरुङले निर्माण गर्नेछन् ।
त्यस्तै पछिल्लो पटक ‘कार्साङ’ निर्देशन गरेका याम शेर्पाले पनि आगामी फिल्मकारुपमा ‘मिरमिरे’ बनाउने घोषणा गरेका छन् । थिम पोस्टर सार्वजनिक गर्दै शेर्पाले यसै वर्ष नै फिल्मलाई हलमा ल्याउने पनि उल्लेख गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने ‘मिरमिरे’ ग्रामीण परिवेशको सामाजिक कथा बोल्ने लेखकसमेत रहेका शेर्पाले बताए । कलाकार निश्चित नभईसकेको यस फिल्मलाई निमु शेर्पा र चोङ्वा लामा शेर्पाले निर्माण गर्नेछन् । ‘कार्साङ’ बाट सकारात्मक समीक्षा पाउन नसकेका निर्देशक शेर्पाले त्यसमा गरिए जस्ता कमीकमजोरी ‘मिरमिरे’ मा नदोहोर्याउने जिकिर गरे ।
त्यसैगरी, आगामी साउन २३ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’ कै लेखक तथा निर्देशक ओम प्रतिक र निर्माता चुम्बनजंग शाहीको जुगलबन्दी फिल्म ‘ढुकढुकी’ मा पनि दोहोरिने भएको छ । सोमबार नै यस फिल्मको पनि निर्माण घोषणा गरिएको हो । तिहारपछि मात्र छायांकनमा जाने भनिएको ‘ढुकढुकी’ का लागि पनि कलाकार निश्चित भईसकेका भने छैनन् । यसअघि राजेश हमाल र करिश्मा मानन्धरलाई राखेर विनोद मानन्धरले ‘ढुकढुकी’ फिल्म बनाएका थिए । ओमप्रतीक नै यस फिल्मका पनि लेखक थिए ।
यसबाहेक सुनिल निउरेको लेखन तथा निर्देशनमा ‘पुष्पलता’ र विकास सुवेदीको लेखन तथा निर्देशनमा अभिनेता पल शाहको निर्माणमा ‘यानीमाया’ का साथै निर्देशक, कलाकार र प्राविधिकबिना नै फिल्म ‘जदौ’ को पनि निर्माण घोषणा सोमबार नै गरिएको छ । सोमबार भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गरि फिल्मको नाम सार्वजनिक गरिएको हो ।