• समाचार
  • चलचित्र
    • कलिउड
    • बलिउड
    • हलिउड
  • भिडियो
  • फोटो ग्यालरी
  • गीत/सङ्गीत
  • न्यू मिडिया
  • अन्तरवार्ता
  • मनोरन्जन
    • रंगमञ्च
    • सूचना प्रविधि
    • सौन्दर्य-फेसन
    • शैली गसिप
×
☰
    • समाचार
    • चलचित्र
      • कलिउड
      • बलिउड
      • हलिउड
    • भिडियो
    • फोटो ग्यालरी
    • गीत/सङ्गीत
    • न्यू मिडिया
    • अन्तरवार्ता
    • मनोरन्जन
      • रंगमञ्च
      • सूचना प्रविधि
      • सौन्दर्य-फेसन
      • शैली गसिप

ट्रेण्डिङ :

    Kala Saili Kala Saili News Kala Saili Update Dayahang Rai Rajesh Hamal Bipin Karki saugat malla Miruna Magar Dinesh Dc Kala Saili Gallery Kala Saili Music

म्युजिक भिडियो निर्देशनमा वाहवाही, फिल्ममा किन गुमनाम ?

  •  कलाशैली संवाददाता
  • २०८२ बैशाख २, मंगलवार १६:०९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    कलाशैली संवाददाता । गायनमा सफलता पाईरहेका बेला प्रकाश सपूत आफ्नै गीतको म्युजिक भिडियो बनाएर निर्देशनमा पनि वाहवाही बटुले । उनका जति पनि सांगीतिक कोशेली आउँछन्, हंगामा मच्चाउने ल्याकत राख्छन् । प्रकाशले म्युजिक भिडियो बनाएर पाएको चर्चा हेर्दा कुनै फिल्म निर्देशकको भन्दा कम थिएन । यही चर्चा र सफलताले हौसिएका प्रकाशले सोचे, अब फिल्म नै निर्देशन गर्छु । परदेशी २ मा कलाकारका रुपमा पनि सफलता पाएपछि सायद उनलाई फिल्म बनाउनु वा निर्देशन गर्नु आफ्नो वशभित्रकै कुरा रहेछ भन्ने लाग्यो होला । त्यसपछि लागे, वसन्त बनाउन । जसमा उनले निर्देशकीय बागडोर मात्रै सम्हालेका छैनन्, लेखन, अभिनयमा पनि संलग्न भए ।

    दूर्भाग्य, वसन्तले अपेक्षित दर्शक पाउन सकेन । वा, भनौं दर्शकद्वारा अघोषित वहिष्कार जस्तै भयो फिल्म । हेरेका दर्शकले पनि वसन्त खासै मन नपरेको प्रतिक्रिया दिए । कतिले त रेडियो नाटकको शैलीमा डायलगबाजी बढि भएको भन्दै दिग्दारी व्यक्त गरे । आफ्ना गीतका म्युजिक भिडियो ल्याएर वाहवाही बटुलेका तिनै प्रकाश फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै असफलताको नमीठो स्वाद चाखे । त्यसो त उनले आफुले वर्षौंदेखि भन्न चाहेको कथालाई देखाउन चाहेकै शैलीमा फिल्म बनाएको जिकिर नगरेका हैनन्, तर उनले बुझेनन्, ठूलो लगानी बोक्ने फिल्म केवल सर्जकको मनमौजी हैन, त्यसले दर्शकलाई रिझाएर व्यवसायिक सफलता पनि पाउनै पर्ने हुन्छ ।

    म्युजिक भिडियो निर्देशन गरेकै भरमा फिल्म निर्देशनमा फड्को मार्ने प्रकाश पछिल्ला उदाहरण हुन्, तर एक्ला हैनन् । नेपालमा म्युजिक भिडियो निर्देशनबाट ठूलो पर्दासम्म पुग्ने निर्देशकहरूको पंक्ति लामै छ । सानो पर्दाका लागि गरिरहेको अनुभवले फिल्म निर्देशनमा हिम्मत गर्नु दुस्साहस त हैन, तर प्रतिफल भने सोचेअनुरुप देखिएको छैन । अर्थात् उनीहरुको फिल्म हेर्न दर्शकले पैसा र समय खर्चिन खासै इच्छा देखाएको पाइएन ।

    नेपाली टेलिभिजन क्षेत्रमा गहिरो छाप छोडेका भुषण दाहाल त्यसै क्रममा म्युजिक भिडियो निर्देशनमा पनि निकै व्यस्त र महंगामा दरिएका थिए । उनका प्रायः भिडियो सफल पनि छन् । त्यसपछि उनी पनि फिल्म निर्देशनमा हामफाले । नेपालमा पहिलो पटक डिजिटल प्रविधीमा फिल्म ‘कागबेनी’ निर्देशन गरेका भुषणले त्यसपछि दोस्रो फिल्म निर्देशन गर्न आँटेनन् । ‘कागबेनी’ लाई पनि नयाँ प्रविधिमा बनेकै कारण जति प्रशंसा गरियो, त्यति न फिल्मको भयो, न त निर्देशकको नै । व्यवसायिक र समीक्षात्मक दुवै दृष्टिले फिल्म असफल नै भयो । सायद, त्यसैले पनि होला, भुषणलाई फिल्म निर्देशन तत्कालका लागि आफ्नो वशको विषय हैन भन्ने लाग्यो की, म्युजिक भिडियो निर्देशनतीरै फर्किए, त्यतै रत्तिए ।

    म्युकिज भिडियो निर्देशनमा कुनैबेला पहिलो नम्बरमा आउँथे, आलोक नेम्वाङ्ग । उनी पनि फिल्म ‘सानो संसार’ मार्फत ठूलो पर्दाका निर्देशक बने । फिल्म प्रदर्शन अगाडी उनको कामको राम्रै चर्चा थियो । तर, फिल्मले धेरै दर्शकलाई हलसम्म तान्न सकेन । तानेकालाई पनि अड्याउन सकेन । फलतः न समीक्षकले उत्कृष्ट भने नत बक्स अफिसमा व्यापार राम्रो भयो ।

    म्युजिक भिडियो निर्देशनमा राम्रै जमेर पनि फिल्म निर्देशनबाट सोचेअनुरुप सफलता पाउन नसक्नेको यो सूचीमा प्रशन्न पौडेल (स्वर), निकेश खड्का (जिन्दगी रक्स), सङ्गीता श्रेष्ठ (कथा काठमाडौँ), विशाल भण्डारी (कोहलपुर एक्सप्रेस) प्रविन श्रेष्ठ (मोक्ष), सुव्रत आचार्य (अधकट्टी) देखि प्रकाश सपुत (वसन्त) सम्म अटाएका छन् ।

    काममार्फत दर्शकलाई आकर्षित गरेर आफ्नो पहिचान बनाउन सफल भएका म्युजिक भिडियो निर्देशकहरू ठूलो पर्दामा किन सफल हुन सकेका छैनन् त ? यो प्रश्नको जवाफ स्वयम् उनीहरुले पनि खोज्ने कोसिस गरेका छैनन्, जती अर्को निर्माता र फिल्म खोज्न गरिरहेका छन् । सानो पर्दाबाट सिधै ठूलो पर्दामा आउनु अगाडि फिल्मको निर्माण प्रक्रिया बारे ज्ञान हुनुपर्ने रहेछ भन्ने निचोडमा बल्ल पुगेका छन्, निर्देशक निकेश खड्का । म्युजिक भिडियोबाट सिधै फिल्म निर्देशनमा आउँदा आफ्ना केही कमीकमजोरी भएको रहेछ भन्ने यतिबेला महसुस गरेका छन् उनले ।

    ‘प्राविधिक ज्ञानसँगै कथा, पटकथा र त्यसलाई प्रस्तुत गर्ने तरिकाका बारेमा बुझ्नु जरुरी रहेछ । मैले पहिलो फिल्म निर्देशन गरेपछि धेरै कुरा सिक्न पाएँ । म्युजिक भिडियोबाट फिल्म निर्देशनमा आउँदा पहिला फिल्म बन्ने प्रक्रिया बुझ्नु जरुरी रहेछ । नत्र दृश्य त राम्रो खिचिन्छ तर त्यहाँ कथा र पात्रको कनेक्सन छुट्छ’, निर्देशक खड्काले भने ।

    निकेशले आफू भिडियोमा मात्र काम गरिरहेकाले फिल्म निर्माण प्रक्रियालाई राम्रोसँग बुझ्न नपाएको स्वीकारे । ‘जसरी बलिउडमा रणवीर कपूर, ऋतिक रोशनले फिल्म गर्नु भन्दा अगाडि प्राविधिक भएर नै निर्माण प्रक्रिया बुझें, त्यसले निकै सहज बनाउँछ । सुरुआती दिनमा सहायक निर्देशक भएकै कारण आज ऋतिक निर्देशक बन्दैछन्, हामीले ठूला फिल्म उद्योगबाट यस्ता कुरा पनि सिक्नु जरुरी छ’, उनले भने । निकेश अहिले एउटा फिल्मको स्क्रीप्टमा काम गरिरहेका छन् । उनको योजना अनुसार कार्य सफल भएमा उनले आगामी भदौमा फिल्मको छायांकन सुरु गर्नेछन् ।

    म्युजिक भिडियोहुँदै फिल्म निर्देशनमा सफल हुने अति कममध्येका एक भाग्यमानी हुन्, मिलन चाम्स । त्यसो त उनको पनि पहिलो फिल्म हँसियाले सोचेजस्तो व्यापार गरेको थिएन । तर राजेश हमाललाई फरक गेटअपमा प्रस्तुत गर्न सकेकैले पनि उनको छुट्टै चर्चा भयो । त्यसपछि उनी भुषण जस्तै एउटै फिल्म निर्देशन गरेर हराएनन् । यतिबेला उनको पछिल्लो फिल्म ‘अञ्जिला’ ले घरेलु बक्सअफिसमा आठ करोड भन्दा माथि ग्रस कलेक्सन गरेर उनलाई सफल निर्देशनमा स्थापित गराईसकेको छ ।

    नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म निर्देशन गरेपछि उनले आफ्नो कार्यशैलीमै परिवर्तन ल्याउने भएका छन् । ‘मलाई पहिला फिल्म भनेको आँखालाई शितलता दिने पनि हुनुपर्छ भन्ने लाग्थ्यो । तर, अब फिल्मको पात्र र मेकिङ वास्तविकतासँग नजिक हुनुपर्छ भन्ने लाग्यो’, मिलनले भने ।

    उनले म्युजिक भिडियोमा काम गर्दा गीतले आधा काम गर्दिने तर फिल्ममा त्यस्तो नहुने बताए । ‘गीत सुन्ने वितिकै त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने सोच आउँछ, कतिपयमा गीतकार र सङ्गीतकारले एउटा सोच बनाएका हुन्छन् तर फिल्ममा कथा लेखिएपछि सबै काम सुरू हुन्छ । त्यसकारण एउटा निर्देशकलाई कथा, पटकथा, क्यामेरा, सम्पादन र पाश्र्वसङ्गीतको ज्ञान हुनु जरुरी छ । यी बुझेर आएमा आफ्नो कथालाई पर्दामा राम्रोसँग प्रस्तुत गर्न सक्छन’, उनले भने ।

    अब यही वैशाखमा नै दर्शकमाझ परीक्षा दिन आउँदैछन्, नवीन चौहान । आर्टमान्डुमार्फत तयार गरिएका गीतसङ्गीत र भिडियोमार्फत गायक सपूत झैँ दर्शकको प्रिय बनेका निर्देशक नवीनले फिल्म ‘ऊनको स्वीटर’ ल्याउन लागेका हुन् । गीतसङ्गीत झैँ फिल्ममा उनी सफल हुन्छन् वा अघिल्ला म्युजिक भिडियो निर्देशक कै सूचीमा पर्छन् ? यसको प्रतीक्षा दर्शक भन्दा बढी म्युजिक भिडियो निर्देशकलाई नै बढी हुनेछ ।

    Post Views: 223
    प्रकाशित मिति: २०८२ बैशाख २, मंगलवार १६:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता
    यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव
    ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. एकै साता सगरमाथा र ल्होत्से चढिन् कविता

    • २. यस्तो छ सनिशाको ‘नरसिंहाः अवतार’ मा काम गर्दाको अनुभव

    • ३. ‘नरसिंहाः अवतार’को बुकिङ खुला, नयाँ रोमान्टिक गीत सार्वजनिक

    • ४. यस्तो बन्यो ‘जन्ते बाख्रो’ को शिर्ष गीत ‘मुकु मुकु म्या’

    • ५. ‘बाउ भर्सेस छोरा’ घोषणा : पुस्तान्तरणको कथा पर्दामा

    चर्चित
    • १. बोर्डमा सदस्य बने विरेन्द्र

    • २. ‘झुठा प्रशंसा हुन्छ’ भन्ने दीपेन्द्रले कीन गरे प्रीमियर ?

    • ३. नोरा फतेहीको काठमाडौंमा भव्य प्रस्तुति (फोटो फिचर)

    • ४. नोरा फतेही काठमाडौंमा, आजै ‘लाइभ’ प्रस्तुति दिने

    • ५. ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत चर्चामा गौरव

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ०२१२ [२०७९]
    सूचना विभाग : ००१० [२०७९/०८०]
    प्रेस काउन्सिल : ००११ [२०७९/०८०]

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : अनामनगर, काठमाडौं, नेपाल
    Email : info@kalasaili.com

    हाम्रो टीम

    सम्पादक/सञ्चालक :
    प्रबन्ध निर्देशक :
    बजार प्रबन्धक :
    सल्लाहकार :
    समाचार संयोजक :

    सामाजिक संजाल

    © 2025 Kalasaili . All Rights Reserved.