काठमाडौँ । नेपाली फिल्ममा गीतसङ्गीत सधैं महत्त्वपूर्ण मानिँदै आएको छ । दर्शकलाई हलसम्म तान्न गीतसङ्गीतले ठूलो भूमिका खेलेको धेरै उदाहरणहरू छन् । विशेष गरी रोमान्टिक भावमा तयार गरिएका गीतहरूले दर्शकको मन जित्दै आएका छन् । तर, पछिल्ला केही समययता फिल्ममा प्रेमिल गीतको उपस्थिति पातलिँदै गएको देखिएको छ ।
यसै सन्दर्भमा चर्चित सङ्गीतकार अर्जुन पोखरेलले पछिल्लो समय रोमान्टिक गीत निर्माणमा कमी आएको स्पष्ट पारेका छन् । उनको भनाइ अनुसार, प्रेम कथानक फिल्म कम बन्न थालेसँगै प्रेम भाव झल्काउने गीतहरू पनि घटेका हुन् ।
‘केही समय यता प्रेम भाव व्यक्त गर्ने रोमान्टिक गीत कम बन्नुको कारण सामाजिक विधामा आधारित फिल्म बढी बनिरहेका छन् । फिल्मकै कथा अनुसार गीत निर्माण हुने भएकाले त्यस्ता गीत कम भएका हुनसक्छन’, सङ्गीतकार पोखरेलले भने ।
सङ्गीतकार पोखरेलले केही सिङ्गल ट्रयाकका रुपमा रोमान्टिक शैलीका गीत आएता पनि फिल्ममा भने रिक्तता महसुश भएको उनको बुझाइ छ । उनले थपे,‘सामाजिक विषयवस्तुमा केन्द्रित फिल्ममा कथावाचन प्राथमिकता हुन्छ । त्यसैले गीतसङ्गीतलाई सन्देशमूलक वा परिस्थितिजन्य बनाउने प्रवृत्ति बढेको छ, जसले गर्दा रोमान्टिक शैलीको गीत कम भएका हुन् ।’
उनको बुझाइमा यो प्रवृत्ति लामो समय टिक्ने अवस्था भने छैन । नेपाली फिल्मको इतिहास हेर्दा पनि लोकप्रिय फिल्महरूमा गीतसङ्गीतको भूमिका अग्रणी रहँदै आएको छ । गीतले कथा भन्न, भावनात्मक सम्पर्क जोड्न र दर्शकको स्मृतिमा फिल्मको छाप बसाउन मद्दत गर्छ ।