सङ्गीत । नेपाली गीतसङ्गीतमा गायक, सङ्गीतकार, एरेन्जरलगायतको परिचयद्वारा स्थापित जेम्स प्रधानले नयाँ गीत ‘गयो जोवन’ ल्याएका छन् । विज्ञापन निर्देशन र निर्माणमा समेत सक्रिय रहेका जेस्मले ल्याएको गीत युवापुस्तामा केन्द्रीत छ । चलिरहेको ट्रेण्ड भन्दा फरक गर्ने जेम्सले अडियो झैँ भिडियो तयार गरेका छन् । गुञ्जन खनालको शब्द र सङ्गीत रहेको गीतमा जेम्सले दिएको स्वर सुमधुरसँगै भिन्न सुनिएको छ । गीतको भिडियो भने सुव्रत आचार्यले तयार गरेका हुन् ।
गीतलाई भिन्नता दिन सम्पूर्ण टीमले मेहनत गरेको गायक जेम्सले बताए । उनले भने,‘गीतको शब्द र भिडियोलाई एक अर्काको भाव व्यक्त गर्ने किसिमले तयार गरेका छौँ । केटाको मनोविज्ञानबाट भनिएको एउटा भावना गीतमा सुन्न र देख्न सक्नु हुनेछ ।’
जेम्सले केही समय अगाडि सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’ दर्शक समक्ष ल्याएका छन् । गीतको भिडियोमा रङ्ग संयोजन र सम्पादन समेत जेम्सले नै गरेका हुन् । यशराज ग्राच र छुल्ठिम गुरुङ फिचर्ड रहेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन, रोहिया महर्जनको कोरियोग्राफी रहेको छ ।