कलाशैली संवाददाता । हलिउडका प्रसिद्ध अभिनेता रोबर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा निधन भएको छ । ‘बुच क्यासिडी एन्ड द सन्डान्स किड’ र ‘द स्टिङ’ जस्ता फिल्महरूमा गरेको अभिनयका लागि उनी विशेष रूपमा चिनिन्थे । उनकी प्रचारक सिन्डी बर्गरले एक विज्ञप्तिमा सार्वजनिक गर्दै अभिनेता रेडफोर्डको सेप्टेम्बर १६ मा युटामा रहेको उनको सन्डान्स निवासमा निधन भएको पुष्टी गरेकी छिन् ।
ओस्कर विजेता रेडफोर्डलाई श्रद्धाञ्जली अर्पण गर्नेहरूमा मेरिल स्ट्रीप र जेन फोन्डा जस्ता चर्चित कलाकारहरू पनि छन् । युटाको सन्डान्स फिल्म फेस्टिभलका संस्थापकका रूपमा पनि उनी चर्चित थिए । उनले सन् १९८० मा ‘अर्डिनरी पिपल’ फिल्मका लागि उत्कृष्ट निर्देशकको ओस्कर जितेका थिए । सन् २०१६ मा ‘अभिनयबाट थाकेको’ बताएपछि उनले सन् २०१८ मा अभिनयबाट सन्यास लिएका थिए ।





