कलाशैली संवाददाता । अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘झरीपछि को इन्द्रेणी’ को भक्ति गीत ‘धन्य धन्य लोकेश्वर’ रेकर्ड गरिएको छ । यो गीतमा नेवारी गीत ‘ऐला लुवया सालगु गाचा’ बाट चर्चामा आएका गायक रोजमन महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वर दिएका छन् । यो गीतले नेपाली भक्ति संगीतमा नयाँ स्वाद थप्ने विश्वास छ ।
गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन् । बाँसुरीमा रुबिन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठको प्रस्तुति रहेको छ । मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठले नै गरेका हुन् । यो गीत सुर मेलोडी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । निर्देशक घिमिरेका अनुसार, ‘धन्य धन्य लोकेश्वर’ ले नेपाली मौलिक वाद्ययन्त्र, भक्ति भावना र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै फिल्मको भावनात्मक गहिराइ बढाएको छ ।
फिल्ममा बालेनको विशेष गीत पनि समावेश छ, जसले युवापुस्तामा उत्साह थप्ने अपेक्षा गरिएको छ । त्यस्तै, लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा अर्को गीत पनि सुन्न सकिनेछ, जसले फिल्मको संगीतलाई थप समृद्ध बनाएको छ ।





