कलाशैली संवाददाता । छोटो समयमा नै सफल पटकथा लेखकका रुपमा दरिएका विकास सुवेदी फिल्म ‘यानी माया’ बाट निर्देशनमा पनि हाम फाल्ने भएका छन् । आफ्नै लेखन रहेको यस फिल्मका लागि उनले लिड रोलमा पनि अञ्जना पुनलाई डेब्यू गराउन लागेका छन् । फिल्म साउनदेखि फ्लोरमा जाने भएको छ ।
दार्शनिक मेटामोडर्न र पारिवारिक ड्रामाको संयोजन रहने बताइएको ‘यानी माया’ ले हजुरआमा र नातिनीबीचको सम्बन्धका धागाहरु जोड्दै जाने बताइएको छ । जसमा अञ्जनाले हंगकंगदेखि हजुरआमालाई भेट्न बागलुङ आएकी एक नातिनीको भूमिका निर्वाह गर्ने बताइएको छ । फिल्ममा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिने ‘यानी माया’ का निर्देशक तथा लेखक सुवेदीले बताएका छन् ।
एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जना २०१४ मा ‘मिस मगर हङकङ’ र २०२३ मा ‘मिस हङकङ नेपाल’ भएकी थिइन् । २०२४ मा मिस नेपाल प्रतियोगितामा समेत भाग लिएकी उनले उक्त प्रतियोगितामा ‘पपुलर च्वाइस’ र ‘मिस इन्टेलिजेन्स’ को उपाधी जितेकी थिइन् । म्युजिक भिडियो मोडलिङमा समेत सक्रिय अञ्जना क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।
‘यानी माया’ लाई बागलुङको ढोरपाटन र हङकङमा खिचिने छ । यसै फिल्मबाट अभिनेता पल शाहले पनि निर्माणमा पहिलो कदम चाल्न लागेका हुन् । निर्माणमा चन्द्रज्योति आलेले पललाई सघाएकी हुन् ।





