कलाशैली संवाददाता । सन् २०२४ मा प्रदर्शनमा आएको साउथ सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले विश्वभर एक हजार करोडभन्दा बढी कमाइ गर्दै तहल्का मच्चायो । यो फिल्मको सफलतापछि प्रभास र दीपिकाको जोडीलाई दर्शकले पुनः एकसाथ पर्दामा हेर्न चाहेका थिए र यसको चर्चा पनि चलेको थियो। तर, हाललाई त्यो सम्भावना टरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, निर्देशक सन्दीप रेड्डी वांगाको आगामी फिल्म ‘स्प्रिट’ मा प्रभाससँगै दीपिका देखिने चर्चा थियो । तर, दीपिका उक्त फिल्मबाट बाहिरिएकी छन्। फिल्ममा प्रभास मुख्य भूमिकामा छन् र दीपिकालाई पनि मुख्य पात्रका लागि प्रस्ताव गरिएको थियो ।
निर्माण टिमसँग पारिश्रमिकको विषयमा कुरा नमिलेपछि दीपिका फिल्मबाट बाहिरिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार दीपिकाले उक्त फिल्मका लागि २० करोड भारतीय रुपैयाँ पारिश्रमिक र फिल्मको नाफाबाट पनि हिस्सा मागेकी थिइन् । तर, निर्देशक वांगा दीपिकाले मागेको पारिश्रमिकमा सहमत हुन सकेनन्, जसका कारण दीपिकाले फिल्म छोडेकी हुन् । निर्देशक वांगाले अब फिल्मका लागि नयाँ अभिनेत्रीको खोजी सुरु गरिसकेका छन् ।
यद्यपि, दीपिका पादुकोण चाँडै नै अर्को ठूलो बजेटको फिल्म ‘किंग’ मा देखिनेछिन् । यस फिल्ममा उनीसँगै बलिउडका बादशाह शाहरुख खान मुख्य भूमिकामा हुनेछन् । फिल्मलाई ‘पठान’ र ‘फाइटर’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । यसै फिल्ममार्फत शाहरुख खानकी छोरी सुहाना खानले पनि सिल्भर स्क्रिनमा डेब्यु गर्दैछिन् ।





