कलाशैली संवाददाता । प्रख्यात अमेरिकी निर्देशक वेस एन्डरसनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा बनेका फिल्महरूमाथि शतप्रतिशत ट्यारिफ (कर) लगाउने योजनाको मजाक उडाएका छन् ।
कान्स फिल्म फेस्टिभलमा आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले हल्का हाँसोका साथ प्रश्न उठाए, ‘के तपाईं फिल्मलाई भन्सारमा रोक्न सक्नुहुन्छ ? मलाई लाग्छ, फिल्म अन्य सामान जसरी ढुवानी हुँदैन ।’ उनले यो नीतिले आफूजस्ता फिल्मकर्मीहरूलाई आर्थिक रूपमा सबैभन्दा बढी असर गर्ने र व्यवहारमा यो कार्यान्वयन गर्न असम्भव हुने बताए ।
यो महिनाको सुरुमा ट्रम्पले आफ्नो ट्रुथ सोशल प्ल्याटफर्ममा ‘विदेशी भूमिमा बनेका’ सबै फिल्महरूमाथि १ सय प्रतिशत कर लगाउने घोषणा गरेका थिए । उनले अमेरिकी फिल्म उद्योग ‘निकट भविष्यमा नै मृत्युको मुखमा पुग्न लागेको’ दाबी गर्दै धेरै अमेरिकी फिल्म निर्माताले यतिबेला कर छुट वा सस्तो उत्पादन लागतको फाइदा लिन विदेशमा छायांकन गरिरहेको बताए ।
‘यो १ सय प्रतिशत करको कुरा रोचक छ,’ कान्स फिल्म फेष्टिभलमा आफ्नो नयाँ फिल्म ‘द फिनिसियन स्किम’ को प्रचारका क्रममा एन्डरसनले हल्का व्यंग्यका साथ थपे , ‘म अर्थशास्त्रको विशेषज्ञ त होइन, तर मलाई लाग्छ ट्रम्पले विदेशी फिल्मलाई शतप्रतिशत ट्यारिफको घोषणा गरेर सबै पैसा कुम्ल्याउने कुरा गरिरहेका छन् । अनि हामी (अमेरिका बाहिरका फिल्मकर्मी) ले त्यसबापत के पाउँछौं त ?’
ट्रम्पको नयाँ कर नीतिले फिल्मको कला र व्यापारबीचको तनावलाई उजागर गरेको छ । जसलाई एन्डरसनले व्यंगात्मक शैलीमा ट्रम्पको नीति अव्यवहारिक र हास्यास्पद भएको जिकिर गरेका छन् । कान्सको यो मञ्चमा उनले फिल्मको विश्वव्यापी प्रकृतिलाई बचाउनुपर्ने भावनालाई जोड दिए, जुन भन्सार र करको साँघुरो दायराले बाँधिन सक्दैन ।
ट्रम्पले मे ५ मा विदेशी फिल्ममा ट्यारिफ घोषणा गरेपनि त्यसको कार्यान्वयन योजनाबारे थप विस्तार गरेका छैनन् । बरु, प्रमुख स्टुडियोहरू, फिल्म उद्योग युनियनहरू र ट्रम्पका आफ्नै हलिउड दूत जोन भोइट र सिल्भेस्टर स्टालोनले हस्ताक्षर गरेको एक खुला पत्रले अमेरिकी फिल्म उद्योगलाई पुनर्जनन गर्न कर छुटको माग गरेको छ, विशेषगरी बेलायत र अष्ट्रेलियामा लागू भएका छुटहरूको उदाहरण दिँदै ।
‘द फिनिसियन स्किम’ मा पोर्टो रिकन अभिनेता बेनिसियो डेल टोरोले एक निर्मम र आत्मकेन्द्रित उद्योगपतिको भूमिका निभाएका छन्, जो हत्या प्रयासबाट बाँचेपछि आफ्नो सम्पत्तिको भविष्यबारे चिन्तित हुन्छ र आफ्ना गल्तीहरू महसुस गर्न थाल्छ। एन्डरसनले यो पात्रलाई ‘एक खास प्रकारको पूँजीवादी अन्धकार’ को प्रतीकको रूपमा वर्णन गरे, जो आफूले विश्वका लागि गरेका ठूला निर्णयहरूले कामदारहरू र प्राकृतिक परिदृश्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा खासै चिन्तित हुँदैन।
फिल्म ‘द फिनिसियन स्किम’ मा बिल मरे, टम ह्याङ्क्स, बेनेडिक्ट कम्बरब्याच, स्कारलेट जोहान्सन र माइकल सेरा जस्ता हलिउडका हस्तीहरूको अभिनय छ । कान्समा एन्डरसनले आफु बेलायती अभिनेता रिचर्ड आयोआडेसँग पुनः नयाँ फिल्मको स्क्रिप्टमा काम गरिरहेकाे पनि बताए । रिचर्डले ‘द फिनिसियन स्किम’ मा चे ग्वेभारा–शैलीको गुरिल्ला योद्धाको भूमिका निभाएका छन् ।





