कलाशैली संवाददाता । भारतीय फिल्ममा निर्देशक रोहित शेट्टीले आफ्नो छुटै पहिचान बनाएका छन् । एक्सन फिल्ममार्फत बलिउडमा निर्देशकको रुपमा उदाएका रोहितले ‘अल द बेस्ट’ र ‘गोलमाल’ सिरिजका फिल्म निर्देशन गरेर आफूलाई कमेडी फिल्ममा पनि स्थापित गरे । ‘जमिन’ मार्फत निर्देशक बनेका रोहितले अभिनेता अजय देवगनलाई निकै सम्मान गर्छन् ।
हालै एक अन्तरवार्तामा रोहित अजय आफ्नो साथी नभएको बताएका छन् । उनले भने,‘अजय सर मेरो साथी होइनन्, उनी मेरो ठूला दाई हुन् । म सुरुआती दिन देखि नै उहाँलाई सम्मान गर्छु र सो सम्मान सधै कायम होस् भन्ने प्रयास मेरो रहन्छ ।’
उनले आफ्नो डेब्युमा अजयले सघाएको बताए । उनले अहिले पनि केही नयाँ प्रयोग गर्नु परेमा अजयलाई नै आग्रह गर्ने गरेका छन् । ‘मेरो डेब्यु फिल्म चलेन, तर अजय सरकै कारण अन्य फिल्म पाएँ । एक्सन पृष्ठभूमिबाट आएता पनि मैले अजयसरलाई कमेडीमा प्रयोग गरें, उहाँ तयार हुनुभयो । कप युनिभर्स बनाउन पनि सिम्बामा अजय सरलाई केमियो गर्न आग्रह गरें, उहाँ तयार हुनुभयो । अजय सरले ओके नभन्नुभएको भए सिम्बाबाट कप् युनिभर्सको सुरुआत हुनसक्ने थिएन । किनकि अक्षय कुमार सर जोडिनुको कारण नै अजय सर हुनहुन्छ’, रोहितले भने ।
उनले आगामी दिनमा ‘गोलमाल’ को नयाँ सिरिज दर्शक समक्ष ल्याउने तयारी भइरहेको बताएका छन् ।